निर्वाचन आयोगबाट ओली सिधै शीलतनिवास पसे

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओली आउने बैशाखमा निर्धारित चुनाव गर्न बाहिर जति आतुर देखिन्छन्, भित्रभित्रै सत्ता लम्ब्याउने षडयन्त्रमा पनि त्यत्तिकै सक्रिय छन् । आज बिहानै ओली निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया जारी राख्न निर्देशन दिन पुगे । आयोगमा उनले निर्धारित समयमै निर्वाचन गर्न आयोगलाई आफू आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए ।

उनीसँगै गएका पार्टी महासचिवसमेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङले पनि वैशाखमै चुनाव गर्न आयोगले तयारी तीब्र बनाएको बताएका थिए । यसरी बाहिर देखिंदा ओली पक्षले चुनाव नै समस्याको एकमात्र समाधान भएको सन्देश सञ्चार गरेको छ । तर भित्री रुपमा भने वैशाखमा चुनाव गर्दा जनताले धोवी चुटाई गर्ने बुझेका छन् । त्यसैले आन्तरिक छलफलमा भने ओली आउने मंसिरमा चुनाव सार्ने पक्षमा लाग्न निर्देशन दिने गरेका छन् ।

यस प्रयोजनका लागि उनी सर्वाेच्चको सुनुवाई पनि केही लम्बियोस् भन्ने चाहन्छन् । सेटिङ मिलेको हल्ला चलाएर भएपनि उनी सर्वाेच्चलाई प्रभावित पार्न चाहन्छन् । तर आन्तरिक रुपमा चुनाव भन्दा सत्ता नै लम्ब्याउने उनको दाउ रहेको प्रष्ट छ । त्यसैले उनी अनेक तानावाना गरिरहेका छन् । त्यसैको संकेतका रुपमा ओलीले भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । निर्वाचन आयोगबाट ओली सिधै शीलतनिवास पसेका छन् । ओली र राष्ट्रपतिबीच अहिले पनि छलफल जारी छ ।

ओलीको यो अकस्मातको भेटघाटले निर्वाचनको संभावनालाई समेत जोडेर हेरिएको छ । बैशाखमा निर्वाचन नहोस् भन्ने ओलीको चाहना पूरा गर्न अब कस्तो फण्डा गर्ने हुन् भन्ने कौतुहल धेरैमा रहेको छ ।

[sidebar name="button post"]