Ad #144479

२० माघ, काठमाडौं । खानेपानी मन्त्री मणि थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका छन् । आज विहान १० बजेतिर नख्खु कारागारमा गएर मन्त्री थापाले ओलीलाई भेटेका हुन् । विप्लव नेकपासँग सरकारले वार्ताको तयारी गरेको चर्चा चलिरहँदा मन्त्री थापाले ओलीलाई कारागारमै पुगेर भेटेका हुन् ।

मन्त्री थापाले वार्ताको वातावरण बनाउन ओलीलाई कारागारमै पुगेर भेटेको उनको सचिवालयले पुष्टि गरेको छ । सरकारले २०७५ फागुन २९ मा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि मन्त्रीस्तरबाट पहिलोपटक सो समूहका नेतालाई भेटेको हो ।

विप्लवको मध्य केन्द्रीय कमाण्ड इन्चार्जसमेत रहेका ओलीलाई नख्खुमा बम विस्फोटको मुख्य योजनाकारको आरोपमा २०७५ चैत्र ८ मा काभ्रेबाट पक्राउ गरेको थियो ।

वलीसँग भेटवार्ता गरेका खानेपानीमन्त्री थापाले नख्खु कारागार पानी र सरसफाईको अनुगमन गर्न गएको बताएका छन् । आजबिहान नख्खु कारागार पुगेर आफ्ना पुराना सहकर्मी समेत रहेका विप्लवका नेता वलीसँग भेटेका मन्त्री थापाले कारागारमा पानी र सरसफाईबारे गुनासो आएपछि अनुगमनका लागि गएको बताएका हुन् ।

विप्लव समूहका नेता वली र मन्त्री थापा पुराना सहकर्मी हुन् । तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्वमा समेतसँगै सहयात्रा गरेका दुई नेता अहिले फरक फरक कित्तामा छन् । वली पुष्पकमल दाहाल, मोहन वैद्य हुँदै विप्लव समूहको गुटमा छन् ।

थापा भने पुष्पकमल दाहाल ‘प्रचण्ड’को गुटबाट बाहिरिएर हालै प्रधानमन्त्री केपी ओलीको गुटमा मिसिएर खानेपानीमन्त्री बनेका हुन् ।