१६ माघ, काठमाडौं । निर्वाचन आयोगले नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको स्पष्टीकरण दिएको छ । शुक्रबार दुवै पक्षलाई छलफलका लागी बोलाएको आयोगले नेकपाको कुनै पनि गुटलाई आधिकारिता नदिएको जनाएको हो ।
तेसाे त आयोगले बोलाएको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूह सहभागी नभइ फर्किएको छ । उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल काठमाडौं बाहिर रहेकोले छलफलमा सहभागी नभएको बताइएका थिए ।
यद्यपि दाहाल नेपाल समूहका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्र आयोगमा बुझाइएको छ । पत्रमा दुबै अध्यक्ष काठमाडौं बाहिर रहेकोले छलफलमा सहभागी हुन नसक्ने व्यहोरा उल्लेख छ ।
संसद विघटनसँग विभाजित नेकपाको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली समूहले भने २०७८ मंसिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय कमिटी विस्तार गर्दै विवरण अध्यावधिक गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।
तर ११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुवै समूहको दाबी अस्वीकार गर्यो । यससँगै कानुनीरुपमा नेकपाको अध्यक्ष ओली र प्रचण्ड रहे भने केन्द्रीय कमिटी ४४१ सदस्यीय नै कायम भयो । यो निर्णयसँगै ओली समूहका नेताहरुले आयोगले ओलीलाई प्रमुख पदाधिकारी मानेकाले आफूहरु आधिकारिक भएको दाबी गरेका थिए ।
निर्वाचन आयुक्त ईश्वरी पौडेलका अनुसार ओली समूहका नेताहरुसँग चिया गफ मात्र भएको छ । उनका अनुसार आयोगले छिट्टै दुवै पक्षसँग संयुक्त छलफल गर्नेछ । दुवै पक्ष राजनीतिक दलसबन्धी ऐनको दफा ५१ अनुसार अभिलेखिकरण गरिदिनु भनेर आएकाले आयोगले त्यसलाई अस्वीकार मात्र गरेको उनले बताए । यदि कुनै समूह आधिकारिक हौं भनेर दाबी गर्न आएको अवस्थामा प्रचलित कानून, विधान र संविधानले के भन्छ भनेर छलफल गरेर आयोग निर्णयमा पुग्ने उनले बताए ।












