१६ माघ, काठमाडौं । नेकपाको आधिकारिकता विवाद निरुपण हुन नसकेको अवस्था दुबै पक्षलाई छलफलका लागि आज निर्वाचन आयोगले बोलाएको बैठकमा सहभागी एउटा समूहले यसको टुंगो लागिसकेको दाबी गरेको छ ।
प्रधानमन्त्री केपी ओली समूहले आधिकारिकताबारे आयोगले टुंग्याइसकेको तर्क गर्दै अब दल दर्ता प्रकृयामा अगाडि बढ्न आग्रह गरेको छ । छलफलका लागि आयोग पुगेका ओली समूहका नेता सुभाषचन्द्र नेम्बाङले ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दाबी गरे ।
छलफलपछि बाहिरिनेक्रममा नेम्बाङले पत्रकारहरुसँग कुरा गर्दै भने–आयोगले यसअघि नै ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा आधिकारिक भनिसकेकोछ । अब यसमा कुनै द्विविधा छैन । आगामी बैखाखमा निर्वाचन गर्ने गरी आयोगले काम थालिसकेको जानकारी आफूहरुले पाएको स्पष्ट गर्दै उनले सर्वाेच्च अदालतले अन्यथा गरेन भने तोकिएकै समयमा निर्वाचन हुनेछ, त्यसका लागि दल दर्ता गर्नेदेखि सबैखाले प्रकृया पूरा गर्न आयोग सकृय रहेको छ ।
तर यस सन्दर्भमा प्रचण्ड–माधव पक्षले भने अहिले कुनै छलफल नगर्ने जनाउ दिएर आयोगबाट बाहिरिएको थियो । सो समूहले माघ १८ गतेपछि मात्र छलफलमा भाग लिन सकिने जनाउ दिएको हो । साथै, आधिकारिकताबारे आयोग अझै अस्पष्ट भएको भनिएको तर ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिएकाले यसमा थप विवाद आवश्यक नरहेको उनीहरुको तर्क रहेको छ ।












