१३ माघ, काठमाडौं । अमेरिकामा सत्ता परिवर्तन भएसँगै नेपालमा पनि अमेरिकी चासो र सकृयता बढ्न थालेको छ । अमेरिकी राजदूत ¥याण्डी बेरी अहिले नेपाली राजनीतिकर्मीसँग बाक्लै भेटघाट गर्दैछन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा बसोबास थालेपछि विश्वभरिका कूटनीतिज्ञहरु नयाँ सोच र धारणाका साथ अग्रसर भएको सन्देश दिन यस्तो गरिएको स्रोतले बताएको छ ।
यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा फरक नीतिलाई बढावा दिने सन्देश प्रवाहित गर्न बाइडेन प्रशासनले यस्तो भेटघाटलाई तीब्रता दिन खोजेको हो । नेपालमा सत्तारुढ पार्टी नेकपा विभाजन हुनेबेलासम्म चीन र भारतीय राजदूतको सकृयता बढेको थियो । तर अब भने उनीहरु सुस्ताएकाछन् । तर अमेरिकी राजदूत चाहिं तात्तिएका छन् ।
बेरीले पछिल्ला दिन नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरिरहेका छन् । यसैक्रममा उनले हिजो मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरे । यसअघि माघ ८ गते राजदूत ¥याण्डीले प्रधानमन्त्री केपी ओलीसँग भेट गरिसकेका छन् । उनले भेटका बेला अमेरिकी सहयोग एमसीसी,विश्व वातावरण र प्रजातान्त्रिक प्रकृयाबारे छलफल गरेका थिए ।











