२६ पुष, बेँसीशहर । मालबहावक ट्रक मर्स्याङ्दी नदीमा खसेकाे छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार चामे सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ४ जगत्बाट मस्र्याङ्दी नदीमा मालवाहक ट्रक खसेको हाे ।
बेँसीशहर नगरपालिकाबाट मनाङतर्फ जाँदै गरेको ग १ ख ५१२४ नम्बरको ट्रक बे्रक फेल हुँदा नदीमा खसेको प्रहरीले जानकारी दिएकाे छ ।
सडकबाट करीब सात सय मिटर तल नदीको बीच भागमा खसेर अड्किएको उक्त ट्रकको केही भाग मात्रै देखिएको र अरु भाग डुबेको तथा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्रकमा रहेको १९० बाकस बिस्कुट र पाँच टन चामलसमेत पूर्ण नष्ट भएको छ । ट्रकका चालक तथा सहचालक भने सकुशल रहेको र नाम खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । ट्रक भने तत्काल नदीबाट निकाल्न नसकिने प्रहरीको भनाइ छ ।









