महोत्तरीमा चिसोका कारण एकै परिवारका तीन जनाको मृत्यु

२३ पुष, जलेश्‍वर । महोत्तरीको बर्दिबासमा चिसोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो । पत्रकारको एक समूह बिहीबार मुसहरको एकीकृत बस्तीमा उनीहरूको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा तीन जनाको मृत्यु भएको खुलेको हो ।

ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा ‘सिरक, डसना’ तथा तातो खानेकुराका अभावमा यही पुष ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितालाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो । उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो । साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृत्यु भएको थियो ।

एकैसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो । सामाजिक, धार्मिक परम्परानुसार उनको क्रियाकर्म गर्दै गर्दा गत मंगलबार १३ औँ दिनका पुण्यतिथिमा अचानक उनका अर्का आठ महिने नाति हरिनारायण सदाका माहिला छोरा प्रभासको पनि मृत्यु भएको रामरतिले सञ्‍चारकर्मीलाई जानकारी दिए ।

गरीबी र विपन्‍नताका जाँतोमा पुस्तौँपुस्ता पिल्सिँदै आएकी रामरतिको परिवारलाई बन्दाबन्दीले झन् विपन्‍न बनाएका बेला यसपालिको चिसोले २० दिनकै अन्तरालमा परिवारका तीन सदस्य बितेका हुन् । बस्तीमा ३५० परिवार दलित मुसहर रहेकामा हाल १८ सुत्केरी र १० गर्भवती छन् ।

[sidebar name="button post"]