बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

९ पुष, बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको हो ।

बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा भएको दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ का जिप चालक अन्दाजी २७ वर्षीय धन बहादुर बोहराको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य ३ जना घाइते भएका र २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।  प्रहरीका अनुसार बैतडी पुर्चौडी नगरपालिका ४ भटनाका अन्दाजी ४० वर्षीय गंगादत्त भट्ट र सोही ठाउँका ३५ वर्षीय जनक भट्टको अवस्था गम्भीर छ । उनीहरूलाई उपचार गर्न डडेल्धुरा अस्पताल लगिएको छ ।

दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिकाका हरिस बोहरा पनि घाइते भएका छन् । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिपमा चालकसहित ४ जना थिए । दुर्घटनाको कारण खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।

[sidebar name="button post"]