बुटवलमा चार दिन निषेधाज्ञा

असाेज १८, प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्कन थालेकाे छ । प्रशासनले चारदिन निषेधाज्ञा घोषणा गरेको छ । स्थानीय प्रशासनले आज बिहान ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञा लगाएको हो छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना निकालेर आउँदो २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो । निषेधित क्षेत्रमा भिडभाड, सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न÷गराउन रोक लगाइएको छ । त्यस्तै, पाँचजना भन्दा बढी व्यक्ति समूहमा उपस्थित भई हिँडडुल गर्न पाइनेछैन । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालयहरू तथा प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो ।

प्रदेशसभा भवन रहेको क्षेत्र दक्षिणमा ईट्टा भट्टीचोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिर देखि ईट्टा भट्टीचोकसम्मको कालिका पथ क्षेत्र भित्र, मन्त्रालय रहेका दक्षिणमा सुन्दर चोक, उत्तरमा भड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेका दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको सूचनामा उल्लेख छ ।

प्रदेश राजधानी दाङको भालुवाङ प्रस्ताव गरेको विरोधमा शुक्रबारदेखि बुटवलमा प्रदर्शन सुरु भएको हो ।

[sidebar name="button post"]