समिता श्रेष्ठ
मन, धन र कर्ममा लाग्ने व्यक्ति व्यक्तिको समूह मिलेर ऐस वुई क्यान नेपाल अर्थात् हामी गर्न सक्छौं संस्था बनेको छ । समाज सेवाको भावनाबाट उत्प्रेरित यो संस्थाले सामाजिक सेवाका काम गर्दै आएको छ । ऐस वुई क्यान नेपाल अर्थात् हामी गर्न सक्छौं संस्थाले जसको कोहि छैन, हामी छौँ भन्ने मान्यतालाई आत्मसाथ गरेको छ । विभिन्न सामाजिक कामहरु पनि हुँदै आएका छन् ।
संस्थाको जन्म र सामाजिक काम
२०७२ सालमा सामाजिक संजालमा क्वीन भर्सेस् किङ्ग नामक फेसबुक ग्रुप मनोरञ्जनका लागि सञ्चालन भयो । तर केही समयमा नै एलिना तामाङको समस्या देखेपछि त्यो पीडालाई देख्न नसकेर सहयोगको अपिल गर्दै यो ग्रुप सामाजिक कार्यमा जोडिन पुग्यो ।
यस समाजिक संजालकै प्रयोग गरी आफ्नो पहिलो मानवसेवाको कार्य अन्तर्गत इटहरीकी २२ वर्षकी एलिना तामाङको उपचारमा सहयोग जुटाउने काम भयो । उनी ब्रेन ट्युमर रोग बाट पीडित थिईन । ग्रुपले उनको उपचारार्थ सहयोग अपिल गरेर आर्थिक सहयोग गर्यो । त्यसपछि आँखाको ट्युमरको कारण पीडा खपिरहेकी कालिकोटकी चार वर्षकी मन्सराको लागि विभिन्न सडक कार्यक्रम गरेर आर्थिक सहयोग गर्दै सामाजिक कार्यमा अघि बढ्दै गयो ।
लगातार र निरन्तर सामाजिक संजालबाटै जोडिएको अन्य विभिन्न सामाजिक कामहरु क्यान्सर पिडित शान्ति तामाङ बचाउ अभियान, सरसफाइ कार्यक्रम, रक्तदान कार्यक्रम, जनचेतना मुलक कार्यक्रम, बाढीपिडितलाइ सहयोग, अनाथालय लगायत विभिन्न अन्य सामाजिक कार्य गर्ने, संघ संस्थामा खाना खुवाउने कार्यक्रम, स्टेसनरी सामाग्री वितरण जस्ता सामाजिक कामहरु फेसबुक ग्रुपबाटै हुँदै आएको छ ।
जोडिने कसरी र किन जोडिने
सामाजिक कार्यमा जोडिने क्रममै ग्रुपको नाम परिवर्तन गरिएको थियो । नाम परिर्वतन पछि ऐस वुई क्यान नेपालअर्थात् हामी गर्न सक्छौ राखिएको हो । यसले सामाजिक कार्यलाई नै निरन्तरता दिने उद्देश्य राखेको छ । हामी गर्न सक्छौ संस्थाले २०७५ साल साउन १६ गते अधिकारिक रुपमा गैर नाफामुखी सामाजिक संस्थाको रुपमा नै दर्ता गरि संचालन गरिएको छ । समाजसेवा गर्ने मन भएका र सामाजिक कार्यमा लाग्ने मानिसको समुहका साथीहरूको साथबाट नै यो संस्था चलिरहेको छ ।
हाल यस संस्थामा सबिता कार्की, नबराज प्रसाईं, जोरा बिष्ट, ज्योति भट्ट, कबिता खड्का ५ जनाले संस्थापकको रुपमा आधिकारिक काम गर्दै आईरहनु भएको छ । यस संस्थामा जोडिएर काम गर्न चाहनुहुने नयाँ सदस्यहरु सामाजिक भाव बोकेर आउन सक्नु हुन्छ । यस सस्थाको फर्म भर्नुपर्ने हुन्छ । ‘यस संस्थामा जति मेम्बर हुनुहुन्छ सकारात्मक सोंच भएका हुनुहुन्छ’ संस्थापक नबराज प्रसाई भन्नुहुन्छ,‘यो संस्था पुर्न रूपमा गैर नाफामुखी सामाजिक संस्था भएको कारण केही पाउनु भन्दा पनि गरिब दु:खीरुको समस्यामा मलम लगाई सामाजिक योगदान दिनको लागि जोडिन सक्नु हुन्छ ।
संस्थाले गरेका सामाजिक कार्यहरूमा जोडिएर काम गर्न सक्नु हुन्छ । हामिसंग जोडिएर काम गर्नुहुने सदस्य वा आफन्तजनलाई समस्या पर्दा पनि हामी सम्पूर्ण टिम मिलेर सकेको सहयोग र हौसला सल्लाह सुझाब दियर सहयोगको लागि सधैं तयार हुने छौ’ नवराज प्रसाईले भन्नुभयो ।
संस्थाको उदेश्य
यस संस्थाको मुख्य उद्देश्य सामाजिक सेवा भाव नै हो । विभिन्न समस्यामा परेका ब्यक्तिहरुलाई संस्थाले सकेको सहयोग गर्नु र वातावरको सरसफाइ, सामाजिक दायित्व निर्वाह गर्नु हो । यसका लागि संस्थाको प्रदाधिकारीहरु एवं संस्थाका सदस्यहरु निरन्तर रुपमा लाग्ने गरेको संस्थाका संस्थापक सबिता कार्की बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘समस्यामा परेकाहरु र आर्थिक अभावको कारणले उपचार गर्न नसकेर बस्नु भएकाहरुको सहयोगका लागि सडकमा र विभिन्न मठमन्दिहरुमा गएर पानी बेच्ने कार्यक्रम समेत गरेका छौँ ।
वातावरण सरसफाइको लागि पनि सार्वजनिक स्थल र मठमन्दिर पुगेका छौँ ।’ ‘सामाजिक कार्य गर्न एक्लैले मात्रै सक्दैनौं त्यसको लागि राम्रो टिम र टिममा सदस्यहरुको आवश्यकता पर्ने गर्दछ’ उहाँले भन्नुभयो,‘हाम्रो टिम र टिम सदस्यहरुको राम्रो सहकार्य भएकै कारण हामिले आज सम्मका सामाजिक कार्यलाई सफलता पुर्वक सम्पन्न गर्न सकेका छौँ ।’
अरुको साथ र हौसला
संस्थाको बारेमा थप जानकारी दिंदै अर्का संस्थापक नबराज प्रसाई भन्नुहुन्छ,‘हामीले रोग, भोक र शोकमा परेकालाई सहयोग गर्दै आएका छौँ । राम्रो काम गरेमा सबैको साथ मिल्दो रहेछ । हाम्रो सम्पुर्ण अभियानमा साथ र हौसला दिने देश बिदेशमा बस्नुहुने नेपाली दिदीबहिनी तथा दाजुभाईहरु नै हो । यो संस्थालाई अगाडी बढाउन उहाँहरुको ठुलो योगदान रहेको प्रसाईं बताउनुहुन्छ ।
कोरोना महामारीमा पनि सहयोग
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका क्रममा पनि यस संस्थाले आफ्नो सामाजिक कार्य लाई निरन्तरता दिंदै होप राईजिङ नेपालमा खाना खुवाउने र राहत वितरण कार्यक्रम गरेको थियो ।
त्यस्तै हालै मात्रै होप फर ह्यूमानिटी र गगननगर बिकाश समाजसँग मिलेर रक्तदान कार्यक्रम सम्पन्न गरेको र जसमा ७५ जनाले रक्तदान गर्नुभएको प्रसाईंले बताउनुभयो । अहिलेसम्म विभिन्न सहयोग संकलन, रक्तदान कार्यक्रम, छालादान जिवनदानबारे जनचेतना मुलक कार्यक्रम, सरसफाइ कार्यक्रम लगाएत थुप्रै यी र यस्तै कार्यक्रम पारदर्शी ढंगबाट गर्दै आएको उहाँ बताउनुहुन्छ ।
पछिल्लो समय ग्रामिण अनि शैक्षिक रुपमा पछाडि परेको जिल्लाका लागि कम्प्यूटर ल्याब, सोलार सिस्टम तथा पुस्तकालयको पहुँच बिस्तार गर्ने विशाल उद्देश्य सहित अघि बढिरहेको र जोडिएर साथ दिन पनि उहाँको अपिल छ । प्रसाईं भन्नुहुन्छ,‘नियमित रुपमा खाने एक कप चियाको पैसा जोगाएर पुण्य काममा योगदान गर्न सकिन्छ ।’ त्यस्तै संस्थाका अर्का संस्थापिका कबिता खड्का भन्नुहुन्छ,‘समय र आँट सँगसँगै सबैको साथ रहेसम्म हामी सधै सबैको मद्धत र सहयोगको लागी अग्रपंक्तीमा खटिने छौँ ।’
संस्थाका अन्य संस्थापक ज्योति भट्ट र जोरा बिष्ट भन्नुहुन्छ,‘सामाजिक कार्यमा लाग्दा मनैदेखी खुशी प्राप्त भएको अनुभव गरेका छौँ ।’









