सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले ढोरपाटनका बाढीपीडितका लागि रु १९ लाख ५८ हजार ७५६ राहत रकम प्रदान गरेको छ । नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले सो रकम बराबरको चेक ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई आज हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा नेकपा केन्द्रीय सदस्य मनकुमारी केसी, बलावती शर्मा, गण्डकी प्रदेश सचिव गोविन्द नेपालीलगायतको उपस्थिति थियो । पार्टीले चलाएको राहत अभियानबाट सङ्कलित रकम बाढीपीडितका लागि प्रदान गरिएको नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारी दिनुभयो ।
जिल्लाका दशै स्थानीय तहमा रहेका पार्टी समिति र सबै जनसङ्गठनबाट राहत उठाइएको उहाँको भनाइ छ । ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीले विपद्मा सघाएकामा नेकपा बागलुङप्रति आभार व्यक्त गर्नुभएको थियो । उहाँले बाढीपीडितको राहत र पुनःस्थापनामा सबैको हातेमालो चाहिने उल्लेख गर्नुभयो ।
आजै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन बागलुङले पनि बाढीपीडितका लागि रु दुई लाख ५४ हजार ८६० राहत प्रदान गरेको छ । अभिनेता शाह र गायक थापाद्वारा सहयोग यसैगरी अभिनेता पल शाह र गायक दुर्गेश थापालगायतको टोलीले ढोरपाटनका बाढी प्रभावित परिवारका लागि आज नै राहत प्रदान गरेको छ ।
पल शाह फाउण्डेशन र ‘हाम्रो टिम नेपाल’को तर्फबाट नगद रु ५० हजारसहित खाद्यान्न, लत्ताकपडा र स्टेशनरी सामग्री प्रदान गरिएको हो । राहत सामग्रीमा ३० बोरा चामल, ३० जोर सिरक÷डसना, नुन, तेल, कापी, कलमलगायत छन् । अभिनेता शाह र गायक थापाले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई राहत हस्तान्तरण गर्नुभएको थियो ।
“बाढी प्रभावितलाई मानवीय सहायता पुर्याउने उद्देश्यले काठमाडौँदेखि यहाँ आयौँ”, अभिनेता शाहले भन्नुभयो, “अरुको दुःखमा साथ दिनु हामी कलाकारको पनि दायित्व हो ।” आफ्नै गृहजिल्लामा बाढीले ठूलो जनधनको क्षति प¥याएको थाहा पाउनसाथ राहत लिएर जाने योजना बनेको गायक थापाले बताउनुभयो ।
काठमाडौँबाट तीन दिन लगाएर ढोरपाटन पुगिएको उहाँको भनाइ छ । नगरप्रमुख नेपालीले राहत सामग्री यथाशीघ्र बाढी प्रभावित परिवारसम्म पुग्ने गरी प्रबन्ध मिलाइने बताउनुभयो । नगरपालिकामा सङ्कलित राहतलाई एकद्वार प्रणालीबाट वितरण गरिने भएको छ । बाढीग्रस्त क्षेत्रमा पुग्ने सडक भत्केका कारण पनि तत्काल राहत पुर्याउन कठिनाइ भइरहेको छ ।
अभिनेता शाहले यसअघि कालिकोटलगायतका ठाउँमा पुगी पहिरो प्रभावित परिवारलाई राहत वितरण गर्नुभएको थियो । ‘हाम्रो टिम नेपाल’सँग मिलेर उहाँले काठमाडौँमा गरिब, मजदुर र असहायलाई भोजन पनि गराउँदै आउनुभएको छ । सामाजिक सेवाको उद्देश्यले ‘पल शाह फाउण्डेशन’ खोलेको उहाँको भनाइ छ ।
अभिनेता शाहले कोरोनाका कारण आम्दानी गुमाएका चलचित्र प्राविधिकहरुका लागि हालै रु पाँच लाख सहयोग गर्नुभएको थियो । अभिनेता शाह र गायक थापाले बाढीमा परी ज्यान गुमाएका गलकोट नगरपालिका–४ का नवीन भण्डारीको परिवारलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ । बाढीमा बेपत्ता भण्डारीको शव एकसातापछि बुधबार बडिगाड खोलामा भेटिएको थियो । उहाँको आजै अन्त्येष्टि गरिएको छ ।
यही भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका–७, ८ र ९ मा क्षति पु¥याएको छ । बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ भने १६ अझै बेपत्ता छन् । बेपत्ताको खोजी जारी छ । बाढी प्रभावित परिवारको राहत एवं पुनःस्थापनाका लागि देशविदेशमा सहायता अभियान थालिएको छ ।
[sidebar name="button post"]









