जितिया पर्व सुरु भएको छ । तीन दिन मनाइने जितियाको पहिलो दिन नदीमा जाने र माछा मारेर ल्याउने गरिन्छ । दोस्रो दिन स्नान गर्ने र जितवाहनको पूजा गर्ने तथा तेस्रो दिन समापन गर्ने गरिन्छ । थारु समुदायको परम्परागत पहिरनमा सजिएर सामुहिक रुपमा झाम्टा नाच्दै जितिया मनाउने गरिएकोमा यो वर्ष कुनै रौनक छैन ।
जितिया अन्र्तगत आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालु नदी, तलाउ वा पोखरीमा पुगेर स्नान गरी सूर्यदेवलाई जलार्पण गरेर पर्वको सङ्कल्प गर्छन् । घिरौंँलाका पातमा पिना, चिउरा र दही राखेर जिमूतवाहनलाई अर्पण गरी पर्व सुरु भएको हो । अष्टमी तिथिमा निराहार व्रत हुन्छ । त्यसअघि अन्न र फलफूल ग्रहण गरिन्छ, जसलाई ‘ओठघन’ भनिन्छ । यसपल्ट तिथि हेरफेर भएकाले बर्तालुले ओठघन गर्न पाएका छैनन् ।
आज ओठघन गर्न नियमले नपाइने पण्डित विमल झाले बताउनुभयो । नवमी तिथिमा पूजापाठ गरेर पर्व समापन हुन्छ । बर्तालु यसपल्ट ३३ घण्टासम्म उपवासमा बस्ने भएका छन् । यसवर्ष कोरोना महामारीका कारण घरघरमै जितिया पर्व मनाइदैछ । सामुहिक नाचगान र भोजभतेरमा भने रोक लगाएको थारु कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले बताउनुभयो ।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।









