आज विश्व आत्महत्या रोकथाम दिवस मनाइदैछ । नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको चैत्र १० गतेदेखि साउनसम्म झण्डै २ हजार २ सय १८ जनाले आत्महत्या गरेको तथ्याङक छ ।
कोरोना सङक्रमणको यो बेला औसत दैनिक १९ जनाले आत्महत्या गरेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाले निम्ताएको आर्थिक, सामाजिक, पारिवारिक समस्या र मानसिक तनाव झेल्न नसकेर आत्महत्या हुने गरेको र त्यसलाई रोक्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।
यो वर्ष कोरोना महामारीका कारण उत्पन्न समस्याले विगतको तुलनामा मनोसामाजिक समस्या र आत्महत्याको दर बढेको छ । लकडाउन, निषेधाज्ञा तथा घरभित्रै बस्नुपरेका कारण गरिखाने वर्गमा बढी असर देखिएको छ । समस्यालाई बाँढ्न सके तनाव कम हुने विज्ञले बताएका छन् । साथै मनमा कुरा नखेलाउन, सकारात्मक कुराहरु सोच्न र नियमित व्यायाम गर्न विज्ञको सुझाव छ ।
आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवार, आफन्त वा साथीभाइलाई पूर्वसङ्केत दिने गरेको समेत पाइएको छ । त्यस्ता व्यक्तिलाई सकारात्मक विकल्प देखाएर र आवश्यक पर्दा मनोचिकित्सकसँग परामर्श गराए ज्यान जोगाउन सकिने मनोचिकित्सक डाक्टर सरोजप्रसाद ओझाले बताउनुभयो । उहाँले कोभिड–१९ मा आत्महत्या बढेकाले सबै मिलेर जनचेतना फैलाई त्यसलाई कम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कोरोनाका बेलामा भिटासिन सी खाने, भिटामिन डी प्राप्त गर्ने तथा सागपात, फलफूलजस्ता सन्तुलित खानेकुरा र दैनिक योग र व्यायाम गर्न पनि उहाँको सुझाव छ ।









