कञ्चनपुरको बेदकोट नगरपालिका–१० पथरीयामा आज जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् ।
प्रहरीका अनुशार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको बँदेलको आक्रमणबाट कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ५० वर्षीय भोजबहादुर सार्की, १८ वर्षीय गुलसन सुनार, ४५ वर्षीय चैते सुनार र ४८ वर्षीय उदय रावल घाइते भएका छन् ।
घाइतेहरुको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । “जङ्गलबाट गाउँ पसेर खेतबारीमा काम गरिरहेकादेखि सडकमा हिँडिरहेका स्थानीयवासीलाई आक्रमण गरेको छ”, उहाँले भन्नुभयो, “यसअघि पनि सोही बँदेल गाउँमा आएर आक्रमण गरेको भन्ने पनि बुझियो ।”
घटनापछि थप क्षति हुन नदिन प्रहरीको टोलीले गोली हानेर बँदेल मारेको छ । “घटनापछि २÷४ सयको सङ्ख्यामा स्थानीयवासी जम्मा भए”, उहाँले भन्नुभयो, “बँदेलले थप मानवीय क्षति गर्नसक्ने आँकलन गरिएपछि मारिएको हो ।” बँदेललाई प्रहरीले शुक्लाफाँटा निकुञ्ज प्रशासनको जिम्मा लगाएको छ ।









