बैतडीमा अडियो नागरिक बडापत्रमार्फत सेवाग्राहीलाई कार्यालयका सेवाका बारेमा जानकारी दिनेमा मालपोत कार्यालय पहिलो बनेको छ ।
मालपोत कार्यालयले अडियो नागरिक बडापत्रमार्फत सेवाग्राहीलाई कार्यालयका सेवाका बारेमा सोमबारदेखि जानकारी दिन थालेको छ । कार्यालयले प्रदान गर्ने सेवाका बारेमा सबै नागरिकले थाहा पाऊन् भनेर अडियो सूचना बोर्ड सञ्चालनमा ल्याएको हो ।
अनिलबहादुर चन्दका अनुशार कार्यालयले दिने सेवाका बारेमा अडियो सूचना बोर्डले डोटेली र नेपाली भाषामा जानकारी दिने गरेको छ। कार्यालयले अडियो नागरिक बडापत्र सञ्चालनमा ल्याएपछि निरक्षर सेवाग्राहीलाई पनि सजिलो भएको जिल्ला मालपोत कार्यालयका प्रमुख दिलाराम भट्टले जानकारी दिनुभयो।
यस्तै कार्यालयले दानपत्र, हालको बकसपत्र, शेषपछिको बकसपत्र, दाखिला, खारेज, संशोधनलगायतका सेवा दिने गरेको छ । यी सबै सेवाका बारेमा अडियो नागरिक बडापत्रमार्फत जानकारी दिन थालिएको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो ।
अडियो नागरिक बडापत्रको सोमबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र जिल्ला मालपोत कार्यालयका प्रमुख भट्टले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।












