कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुशार फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो ।

उहाँका अनुसार गए राति ११ः४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो । उनलाई साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ र कोहलपुरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

[sidebar name="button post"]