कोरोनाबाट सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि मकवानपुरको हेटाँैडा बजारमा चहलपहल कम भएको छ । यसले व्यापारिक कारोवार समेतमा असर परेको छ ।
व्यापारिक फर्म, खुद्रा र थोक पसल तथा सहकारी संस्था सञ्चालन भएपनि कारोवार अत्यन्त कम रहेको गुनासो छ । हेटौँडाका व्यवसायी गजेन्द्र चौलागाईंका अनुसार कोरोनाको त्रास र व्यावसायिक कारोवारको कमीले व्यवसाय चौपट भएको छ । आवश्यक काम नपरेसम्म कोरोनाको त्रासले सर्वसाधारण घरबाहिर जान छोडेका छन् ।
जिल्ला प्रशासन कार्यालयले हेटौँडालगायत आसपासमा कोरोना सङ्क्रमित देखापरेपछि जिल्लाभित्र र बाहिर आवागमनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला जान र अन्य जिल्लाबाट मकवानपुर आउनमा निषेध गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सङ्क्रमण रोकथाम, नियन्त्रण तथा व्यस्थापनका लागि एक जिल्लाबाट अर्को जिल्लामा आवागमन बन्द गरिएको बताउनुभया । जिल्लाभित्रका उद्योग, कलकारखाना तथा व्यवसायमा जिल्ला बाहिरबाट श्रमिक तथा कामदार मगाउन रोक लगाइएको छ । बजार क्षेत्रमा स्वास्थ्य तथा सुरक्षाका न्यूनतम मापदण्ड पूरा भएनभएको सम्बन्धमा अनुगमन गर्ने काम भइरहेको नेपालले जानकारी दिनुभयो ।
त्यस्तै यहाका होटल र रेष्टुरेन्टहरु बन्द गरिएको छ । कोरोना सङ्क्रमितको उपचार र सुरक्षा तथा निगरानीमा जोड दिइएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । छिमेकी जिल्ला बारा र पर्सामा कोरोना सङ्क्रमित अत्यधिक फेला परेपछि मकवानपुरलाई जोगाउन बाहिर जिल्लाबाट आउन र जान निषेध गरिएको अनुमान छ । मकवानपुर जिल्लामा हालसम्म ५४ जनामा कोरोना सङ्क्रमण फेला परेको छ ।









