लगातारको वर्षाका कारण धनगढी आसपासका क्षेत्र गएराति देखि जलमग्न भएका छन् । धनगढीको विशालनगर, मिलनचोकलगायत बस्ती, २ को मालिका टोल, कृष्णनगर, सरस्वती टोल, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्ती, ४ को उत्तरबेहडी र शिवनगरलगायत बस्ती जलमग्न भएका हुन् ।
भारी वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्ने अवस्थासम्म नभएको धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासी दिजराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “अव्यवस्थित तथा पुराना नालीका कारण अलि बढी पानी परेपछि निकासा हुन नसकेर हरेक वर्ष बर्सातमा यस्तो अवस्था सिर्जना हुने गरेको छ ।” पानी निकासा हुने गरेका जमानादेखिका खोला, नालाहरु अतिक्रमण भएका कारण पनि वर्षैपिच्छे यहाँका बस्ती डुबानमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ ।
धनगढी उपमहानगरपालिका–३ का अध्यक्ष बलबहादुर ऐरले सोही वडाको गुरुद्वारादेखि मिलनचोकसम्मको बेल्ट हरेक वर्ष बर्सातका समयमा डुबानमा पर्ने गरेको बताउनुभयो । उहाँले वडामा आएको बजेटले समस्याको समाधान गर्न सम्भव नभएकाले प्रत्येक वर्ष निरन्तर रुपमा प्रदेश, स्थानीय र सङ्घीय सरकारलाई वडाको ढल निकासका लागि योजना बनाई पठाएको तर त्यो कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
पुराना खोलानाला मासिँदै गएकाले हरेक वर्ष डुबानको समस्या दोहोरिँदै गरेको वडा नं २ का अध्यक्ष नरबहादुर बमको भनाइ छ । निरन्तर वर्षाले यहाँ बजार आसपासका बस्ती मात्रै नभई बजारका मूल सडकसमेत जलमग्न भएका छन् । यसरी मूल सडकमा पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ । स्थानीयका धानबाली डुबानमा परी जलमग्न भई तलाउमा परिणत भएका छन् ।
उपमहानगरभित्र भएका प्राकृतिक खोलानाला अतिक्रमण भएपछि डुबानको समस्या बर्सेनी दोहोरिने क्रम बढ्दै गएको छ । यसअघि पनि झण्डै दुई साताअघि परेको अविरल वर्षाका कारण पनि यहाँका अधिकांश बस्ती जलमग्न हुनाका साथै दर्जनौँ बढी घर तथा पसल डुबानमा परेको थिए ।









