सञ्चालन गर्न नसकिएका ३५० फर्म खारेज

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले ३५० वटा फर्मलाई खारेज गरेको छ । व्यापार व्यवसाय सञ्चालन गर्नका लागि मात्र दर्ता गरिएको तर विभिन्न कारणले व्यापार व्यवसाय सञ्चालन गर्न नसकेकाले कैलाली र कञ्चनपुरका ३५० फर्मलाई खारेज गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा कैलाली कञ्चनपुरमा गरिएको अनुगमनका क्रममा २३ व्यवसायीलाई तत्काल जरिवाना गरिएको थियो । अनुगमनका क्रममा रु चार लाख ८५ हजार ६०० बराबरको म्याद सकिएका, लेबल टाँस नगरिएका अखाद्य वस्तु नष्ट गरिएको थियो । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक पहाडी जिल्लामा कार्यालयले नियमित बजार अनुगमन गर्नुपर्ने भए पनि आवश्यक जनशक्ति र साधनस्रोत अभावका कारण अनुगमन गर्न नसकिएको जनाएको छ ।

आव २०७६/०७७ मा एक हजार ३४१ निजी र २६ वटा साझेदारी फर्म दर्ता भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो आर्थिक वर्षमा संशोधन (नामसारी, ठाउँसारी) अन्तर्गत एक हजार १०४ र दुई हजार १८८ वटा फर्म नवीकरण भएका थिए । कार्यालयले उक्त आवमा रु एक करोड ८७ लाख २४ हजार ९५ राजस्व सङ्कलन गरेको छ ।