पाल्पामा तितेपातीको तेल उत्पादन कार्य शुरु पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन कार्य शुरु गरिएको छ । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । सहकारीका अध्यक्ष झपेन्द्र जिसीका अनुसार स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन शुरु गरिएको हो ।
उहाँले आगोबाट पानी तताई त्यसको बाफबाट मेशिनको प्रयोग गरी तीतेपातीको तेल निकाल्न थालिएको तर प्रविधिको सहयोग पाएमा काम छिटो छरितो र प्रभावकारी हुने हँुदा सरकारले यसको व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । करिब चार रोपनी जग्गामा रु १५ लाखको सानो मेशिन जडान गरिएको छ ।
यसबाट काम गर्न समस्या भएकालले ठूलो मेशिन स्थापना गरेर पाल्पामा पाइने अदुवा, बेसार तथा अन्य जडीबुटीसमेत प्रशोधन गर्न सकिने उहाले बताउनुभयो । सहकारीले गाउँटोलमा पाइने तीतेपातीलाई प्रतिकिलो रु आठ मा सहकारीले खरिद गर्दै आएको छ ।
गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीका अनुसार पाखो जग्गामा रहेको तीतेपातीबाट स्थानीयस्तरमा समेत स्वरोजगार सिर्जना हुनेछ । पाँच क्विन्टल तीतेपाती एक पटकमा पेल्दा एक लिटर तेल निस्कन्छ भने एक लिटर तेललाई रु १० हजारसम्ममा बिक्री गर्न सकिन्छ ।
गाउँघरमा प्रशस्तै औषधिजन्य जडीबुटी भए पनि यसको प्रशोधन सुविधा नहुँदा र महत्व नचिन्दा ओझेल परेकामा अब सहकारीले प्रशोधन यन्त्र उपलब्ध भएमा अन्य जडीबुटीलाई पनि प्रशोधित गर्ने र विदेशमा समेत निर्यात गरेर राम्रो आर्थिक विकास गर्ने योजनाको तयारी गरेको छ ।
सहकारीका सदस्य बुद्धिराज गौतमका अनुसार फ्याँकिएका बिरुवाबाट पनि आम्दानी लिन सकिन्छ भन्ने ज्वलन्त उदाहरण तीतेपातीको तेल निकाल्ने कार्यले सबैमा उत्साह थपेको छ । संस्थाले अहिले सात जनालाई रोजगारीसमेत दिएको छ । विसं २०५६ मा स्थापना गरिएको संस्थामा १६५ शेयर सदस्य रहेका छन ।