रोल्पामा पहिलो जनयुद्ध सङ्ग्रहालय स्थापना गरिएको छ । त्रिवेणी गाउँपालिका तिलाको मूल प्रवेशद्वारमा जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको हो ।
जनयुद्ध शुरु भएको रोल्पामा भावी पुस्तालाई इतिहासको रूपमा चिनाउने उद्देश्यका साथ जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको बताइएको हो । मूल प्रवेशद्वारमा जनमुक्ति सेनाको तस्वीर कोरिएको छ । उक्त तस्वीरमा महिला जनमुक्ति सेनाले पिठ्युमा बच्चा, हातमा बन्दुकसहित पुरुष सेना सँगसँगै पहाडमा उकालो लाग्दै गरेको युद्धताकाको दुर्लभ तस्वीरलाई झल्काइएको छ ।
सङ्ग्राहलयमा यस्ता आवरण देख्दा आफू युद्ध लडेको स्मरण भएको पूर्वजनमुक्ति सेना अग्रिम पुन बताउनुहुन्छ । “सङ्ग्रहालयबाट हामीले विगतमा गरेका कार्यको भावी सन्ततिले थाहा पाउनेछन्, हामीले युद्धबाट स्वर्णिम इतिहास रचेका छौँ”, पुनले भन्नुभयो । यही व्यारेकमा बसेर सहायक कमान्डरका रुपमा काम गरेको बताउँदै इतिहास झल्कने खालका संरचनालाई बचाउन सबैको मद्दत हुनुपर्ने पुनले बताउनुभयो ।
सङ्ग्राहलयभित्र जनमुक्ति सेनाको ब्यारेकका सम्पूर्ण भौतिक संरचनाअन्तर्गत बङ्कर, ड्युटीपोस्ट, पुराना डिजाइनका भवन देख्न सकिन्छ । सङ्ग्रहालय परिसरमा एक हजार ३०० मिटरको दृश्यावलोकन स्तम्भ निर्माण गर्ने योजना रहेको छ ।
प्रदेश सरकारको रु ५० लाख, निर्माण व्यवसायी समितिमार्फत खर्च गरिएको थियो भने सङ्घीय सरकारबाट प्राप्त भएको रु ४० लाख उपभोक्ता समितिमार्फत खर्च गरिएको समितिका अध्यक्ष अमर डाँगीले बताउनुभयो ।
विसं २०५२ फागुन १ गतेदेखि रोल्पाबाट जनयुद्ध शुरु भएपछि सशस्त्र विद्रोहको समयमा जिल्लाका गाम, सुकीदह, हार्जङ, भावाङ, जेल्बाङ, थवाङ, कोर्चावाङलगायतका दर्जनौँ स्थानमा तत्कालीन माओवादी सेना र नेपाली सेनाबीच दोहोरो भिडन्त भएको थियो ।
यी ठाउँलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको जानकार बताउँछन् । युद्धकालीन समयमा रोल्पामा ९६९ जनाको मृत्यु भएको थियो भने ३३ जना बेपत्ता भएका थिए ।