सङ्क्रमित बढे सङगै प्रदेश नं २ का एकपछि अर्को जिल्लामा निषेधाज्ञा घोषणा

२१ साउन, काठमाडौं । सरकारले लकडाउन हटेको घोषणा गरे सङगै आवागमन खुकुलिँदै जाँदा विशेष गरि प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । यो अवधिमा प्रदेशमा हालसम्म यो व्याधिले १९ जनाको ज्यान लिइसकेको छ ।

सङ्क्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) जारी गर्दैछन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमबार मध्यरातदेखि नै सात दिनको निषेधाज्ञा लागू गरिएको छ । त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि जिल्लाभरमै लागू गरेको छ । पूर्वको सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा तीन दिनपूर्व नै निषेधाज्ञा जारी छ भने सर्लाही जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी सात दिनको निषेधाज्ञा आदेश जारी गरेको छ ।

यसैबीच प्रदेश नं २ सरकारले कोभिड–१९ सङ्क्रमण बढ्ढै गएपछि न्युनिकरणका लागि आवश्यकतानुसार प्रभावित जिल्ला र त्यसभित्रका खास क्षेत्रमा लकडाउन लगाउने, भारतसँगको सीमाक्षेत्रमा आवागमन कडाइ गर्ने, पिसीआर जाँच बढाउने र उपचार प्रबन्ध व्यवस्थित गर्न स्वास्थ्य उपकरण बढाउने रणनीति तय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताउनुभएको छ ।

[sidebar name="button post"]