सरकारी कार्यालयमा बम विस्फोट गराउने अभियुक्त ९ वर्षपछि पक्राउ

सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षपछि पक्राउ गरेको छ । प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसाार मालपोत, भूमि सुधार लगायतका कार्यालयमा बम विस्फोट गराएको अभियोगमा अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढलाई आज पक्राउ गर्न सफल भएको हो ।
२०६८ मङ्सिर १४ गते भूमिसुधार र मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा जिल्ला अदालतले २०७२ साल माघ १८ गते छ ÷छ महिना कैद र पाँच÷पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
२०६८ साल चैत ६ गते साबिक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विस्फोट गराएको घटनामा पनि अदालतले २०७२ साल माघ १८ गते छ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
प्रहरी उपरीक्षक रानाका अनुसार बाँके प्रहरीले अहिले अदालतको आदेश कार्यान्वयन गराउन फरार अभियुक्तलाई खोजतलास गर्ने अभियान सञ्चालन गरेको छ । सोही अभियानकै क्रममा राढलाई पक्राउ गर्न सफल भएको हो