ढोरपाटन नगरपालिकामा कोरोना कहरले ढोरबाराही सुनसान भएको छ । ढोरबाराही पूजा व्यवस्थापन समितिले केही दिन अघिनै सूचना दिएर मेला नहुने जानकारी गराएपछि अहिले त्यहाँ भक्तजन आएका छैनन् । स्थानीय बासिन्दाका अनुसार नजिकै घर भएका, तत्काल आएर फर्कने र भीड नगर्ने गरी पूजामा सहभागी हुने केही मानिसबाहेक ढोरबाराहीमा कोही आएका छैनन् ।
ढोरपाटन नगरपालिका–९ का अध्यक्ष हरिबहादुर घर्तीले कोरोनाका कारण मेला आयोजना नगरिएको जानकारी दिनुभयो । नगरपालिकाले मेला महोत्सवमा भेला नहुन सूचित गरेको छ । ढोरपाटनको ढोरबाराही मन्दिर र उत्तरगङ्गामा हरेक वर्ष जनैपूर्णिमामा मेला लाग्थ्यो ।
जनैपूर्णिमाको केही दिनअघिदेखि नै मेला भर्न सयौं आउने ढोरबराहमा आइतबारसम्म कोही नआएको स्थानीयवासीको भनाइ छ । जनैपूर्णिमाको अवसरमा लाग्ने मेलामा बागलुङ, म्याग्दी र रुकुमसहित गुल्मी, अर्घाखाँची, प्यूठानलगायतका अन्य जिल्लाबाट हजारौंँ मानिस ढोरपाटन पुग्ने गर्थे । कोरोना सङ्क्रमणको जोखिम रहेको भन्दै औपचारिक पूजा मात्रै गरिने भएको ढोरपाटन नगरपालिका र स्थानीय आयोजकले जानकारी दिए ।
अघिल्लो वर्ष नगरपालिकाले मन्दिर व्यवस्थापन र घेराबारका लागि मात्रै एक करोड लगानी गरेको थियो । ढोरबाराहीको पूजा गरेर भोग चढाएपछि सुरक्षा र सहकाल आउने यहाँका मानिसमा विश्वास छ । बराह अवतारकोस्वरुप भएकोले दर्शन गर्दा साक्षत भगवानको दर्शन पाइनेसमेत स्थानीयवासीमा विश्वास छ ।