चितवनको राप्ती नगरपालिकाको भण्डारामा कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण गरिएको छ । जनजागृत हरियाली ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लिमिटेडले बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदान सहयोगमा च्याम्बर निर्माण गरेको हो ।
आइतबार च्याम्बरको शुभारम्भ गर्दै कोरोनाको कहरका बीच पनि समयमै काम सम्पन्न भएकोमा सरोकारवालालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले धन्यवाद दिनुभयो । राप्ती नगरपालिकामा उत्पादन हुने कृषि सामग्रीको भण्डारण र बजारीकरणका लागि सेड घर र कोल्ड च्याम्बरले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।
च्याम्बर ९२ लाखको लागतमा निर्माण गरिएको हो । सो रकम सबै प्रदेश सरकारले अनुदान दिएको छ । सहकारीमार्फत राप्ती र खैहरनी नगरपालिकाका वडा नम्बर १० र ११ का किसान लाभान्वित हुनेछन् । विसं २०५७ मा स्थापना भएको सहकारीमा ११ सय शेयर सदस्य छन् भने पाँच हजार किसानले कारोवार गर्दै आएका छन् ।
कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माणपछि किसानको डोको डालो र बोरामा ल्याएको तरकारी घाम पानीबाट जोगिने र बाँकी रहेको तरकारी कोल्ड च्याम्बरमा राख्न सकिने भएको सहकारी संस्थाका अध्यक्ष धर्मराज कँडेलले भन्नुभयो । कोल्ड च्याम्बरमा १० टनसम्म तरकारी राख्न मिल्ने उहाँले जानकारी दिनुभयो ।