पाल्पाको ऐतिहासिक भगवती जात्रा स्थगित

काठमाडौं , १७ साउन । ऐतिहासिक पाल्पाको प्रख्यात भगवती तथा रणउजेश्वरी जात्रा कोभिड–१९ महामारीका कारण यो वर्ष स्थगित भएको छ ।

कर्णेल उजिरसिंह थापाले युद्धमा निस्कनुअघि विजय भएमा ठूलो मन्दिर बनाई खटजात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए । तिनै थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अङ्ग्रेजलाई परास्त गरेर आफ्नो भाकल पूरा भएपछि उनले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीनतले तानसेनमा भगवतीको मन्दिर बनाएको इतिहास छ ।

राष्ट्रियता, वीरता र रणकौशलको इतिहास बोकेको रथयात्रा कोभिड–१९ महामारीका कारण नहुने जिल्ला प्रशासन कार्यालय र तानसेन नगरपालिकाले निर्णय गरि यस बर्ष जात्रा ननिकाल्ने निर्णय भएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिनुभयो ।

यसैगरी, पाल्पामा निकालिने गाईजात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, नारायण जात्रा, गणेश जात्रा, कृष्ण जात्रालगायत जात्रा तथा पर्व यो वर्ष नगरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, तानसेन नगरपालिका, विश्व हिन्दू महासङ्घ, विभिन्न गुठी सङ्घसंस्थाहरु र सरोकारवालाको बैठकले कोरोनाको जोखिमका कारण जात्राहरु नगर्ने निर्णय गरेको छ ।