नेपालगञ्जमा पार्किङमा राखिएको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ना४ख २६५१ नंको ट्याङ्करमा करेन्ट लागेर सहचालकका रुपमा कार्यरत बारा जितपुर सिमरा नगरपालिका निवासी २२ वर्षीय राज थापामगरको मृत्यु भएको छ ।
नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जमा करेन्टका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिनुभयो । गएराति ८ः०० बजेतिर करेन्ट लागेर गम्भीर घाइते भएका थापामगरको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । विद्युत्को तार पन्छाउन ट्याङ्करको छतमा उभिएका थापामगरलाई करेन्ट लागेको थियो ।
शवपरीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । बन्दाबन्दीका कारण पार्किङ निर्माणमा ढिलाइ भएकोले ट्याङ्कर सडकमै ट्याङ्कर राख्ने गरिएको नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोका प्रबन्धक नवविनोद पोखरेलले बताउनुभयो । नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १५० ट्याङ्कर छन् ।
प्रबन्धक पोखरेलका अनुसार कोरोना महामारीले सार्वजनिक सवारीसाधन सञ्चालन नभएकोले पेट्रोलियम पदार्थ खपत कमी भएकाले अहिले धेरैजसो ट्याङ्कर पार्किङमा हुने हुँदा समस्या देखिएको हो ।