जलेश्वरमा समुदायस्तरमा सङ्क्रमण, निषेधाज्ञा जारी

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा कारोना महामारी समुदायस्तरमा नै फैलिन थालेपछि गए रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । गए राति ११ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि जिल्ला दैवी प्रकोप समितिले निषेधाज्ञाको सूचना जारी गरेको छ ।

जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल  क्षेत्रमा पाँचदिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित सो सूचमा जनाइएको छ ।

सो सूचनामा जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ३ र वडा नं ५ मा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ । एक साताअघि जिल्लाको महोत्तरी गाउँपालिका–३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको थियो ।

मृतकको शव व्यवस्थापनमा खटिएका तथा आइसोलेसन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेना, जलेश्वरका एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारजनमा बिहीबार कोरोनाको सङ्क्रमण देखिएको थियो । समुदायस्तरमा सङ्क्रमण फैलिन थालेपछि जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा गए रातिदेखि निषेधाज्ञा जारी गरिएको हो ।