बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद

सदरमुकाम खलङ्गाबाट जिल्ला प्रहरी कार्यालयले बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद गरेको छ । अवैध मदिरा नष्ट गर्ने अभियान चलाएकै बेला यार्सागुम्बा बरामद भएको हो ।

प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टका अनुसार बरामद गरेको यार्सागुम्बालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाइएको छ । कूल ५३० वटा यार्सागुम्बा बरामद गरिएको छ । यार्सागुम्बा बरामद गरेपछि सङ्कलनकर्तासँग सङ्कलन इजाजत नभएको हुँदा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो । दुई दिनसम्म सङ्कलन इजाजत ल्याउन नसक्दा बरामद गरिएको यार्सागुम्बा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बझाइएको उहाँको भनाई छ ।

यार्सागुम्बाको अनुसन्धान भइरहेकै बेला सदरमुकाम खलङ्गामै यार्सागुम्बा भेटिएका कारण वन कार्यालयले यार्सागुम्बाको अनुसन्धान गर्ने निमित्त डिभिजन वन अधिकृत अमरसिंह धामीले जानकारी दिनुभयो । यार्सागुम्बा बेवारिसे भेटिए पुनः लिलाम प्रक्रियामा जाने उहाँको भनाई छ ।