साउन ५ । प्रदेश २ र वाग्मतीमा ठुलो पानी परिरहेको छ । लगातार पानी परिरहेकाले सर्तकता अपनाउन आग्रह गरिएको छ । त्रियुगा, खाडो, बालन खुट्टी, चुरियाखोला, माउली, रातो, बिगही, झिमखोला हर्दीखोला, मरहाखोला, लखन्देही र साना नदीमा आकस्मिक बाढी हुने संभावना रहेकाले तटीय क्षेत्र र डुबान भईरहने होचा ठाउँमा दिउँसोसम्म उच्च सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।
आज नारायणीमा पनि पानीको बहाव खतरा आसपास छ । त्यस्तै कन्काई, कोशी, कमला, तिनाउ, बबई, पश्चिम राप्तीका केहि सहायक नदीमा पनि बहाव सतर्कता तह पुग्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ । काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा वर्षा भैरहेको छ ।
वाग्मती सहित विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदीमा बहाव सतर्कता नजिक पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले सडक किनार र होचा ठाउँमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।