बाढी र पहिरोले क्षति भएका घर बनाउन सरकारले सघाउने

साउन ५ । सरकारले बाढी र पहिरोले घर पूर्णरूपमा क्षति भएका परिवारलाई बसोबासका लागि सघाउने गरी प्रकृया अगाडी बढाएको छ । सकेसम्म घर नै पुनर्निर्माण गर्नेगरी योजना अघि बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

अहिले विधि र प्रकृयाबारे छलफल चलिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसै हप्ताभित्र स्पस्ट कार्ययोजना ल्याउनेगरी तयारी भएको छ । तथ्याङक जुटाउन समय लाग्ने भएकाले केहि समस्या भैरहेको उहाँको भनाई छ ।

पोखरेलका अनुसार विपद् प्रभावित क्षेत्रमा त्यहाँका पालिका र प्रदेश सरकारको समन्वयमा घरबार विहिनलाई घर पुनर्निर्माणमा सघाउने गरी तथ्याङक संकलनको काम भैरहेको छ । बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारलाई सरकारले एक लाख रुपैयाँ राहत स्वरूप दिने गरेको छ । त्यसबाहेक पनि प्रदेश र पालिकाले आफूहरूको क्षमता अनुसार राहत दिदै आएका छन् ।

सरकारले दिदै आएको राहत पिडितका लागि अपुग रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलको भनाई छ । सिन्धुपाल्चोकका बाढीपहिरो पिडितको वाग्मती प्रदेश सरकारले घर बनाइदिने निर्णय गरिसकेको छ ।