साउन ४ । वाग्मती प्रदेशमा प्रदेश सरकार मातहत प्रहरी भर्ना गर्ने बाटो खुलेको छ । वाग्मती प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेसँगै प्रदेश सरकार मातहतको प्रहरी भर्ना गर्ने बाटो खुलेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले बताउनुभयो ।
प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री जमरकट्टेलले विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
प्रहरी विधेयक पारित गरिएपछि कानुन मन्त्री जमरकट्टेलले कुराकानी गर्दै प्रदेश सरकारले प्रदेशमा प्रहरी ऐनमा उल्लेख भएको काम, कर्तव्य, अधिकार र प्रहरीको पदस्थापनको साथै सरुवा र बढुवा लगायत अधिकार प्रत्यायोजित गर्ने सन्दर्भमा मार्ग सहज भएको बताउनुभयो ।