२८ असोज, कर्णाली । गत असोज १९ गतेदेखि अविरलरूपमा परेको वर्षापछिको बाढी र पहिराले कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्ड एक हप्तादेखि पूर्णरूपमा बन्द छ । राजमार्ग अवरुद्धका कारण आवागमन पनि ठप्प भएको छ ।
राजमार्गको अवरोध हटाएर आवागमन सहज बनाउन आज जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी नेतृत्वको टोली र स्थानीय सरकारका प्रमुखहरूसहित जुटेका छन् । नेपाली सेना नन्दा बक्स गण जुम्लाका गणपति रविन थापाले जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा गएको पहिरो पन्छाउन सुरु गरिएको बताउनुभयो ।
क्षतिग्रस्तस्थल पुगेर सडक डिभिजन कार्यालयले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी केसरीले जानकारी दिनुभयो । राजमार्ग खुलाउन प्रजिअ केसरी, गणपति थापा, सशस्त्र प्रहरी ३३ नं गणका प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्द स्थलगतरुपमा आफैँ खट्नुभएको छ ।
अवरोध हटाउनका लागि प्रयोग गरिएका ‘स्काभेटर’ सहित प्रहरीसमेत खटाइएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली राजमार्गको जुम्ला खण्डको रारालिहीमा तीनवटा ‘स्काभेटर’ ले लगातार काम गरिरहेका छन् । यसका साथै ‘ब्रेकर’ले समेत काम गरे पनि ठूलो ढुङ्गाहरू खसेकाले ‘ब्लाष्टिङ’ गर्नुपर्ने अवस्था भएको छ ।
गणपति थापाले भन्नुभयो, “ब्लाष्टिङ गर्नका लागि माथिल्लो निकायसँग अनुमति मागिसकिएकाले काम छिट्टै सुरु गर्दैछौँ । यो काम अझै दुई–तीन दिन लाग्ने देखिएको छ ।”
जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार नाग्म–गमगढी राजमार्गको भूगोलपाटा, बाँजागाड, बड्की, देवारगाउँ, आचार्य लिही सडकखण्डमा पहिरो जाँदा आठ–दश स्थानमा सड्क अवरुद्ध भएको छ । हिमा गाउँपालिकामा पर्ने त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सडक सञ्चालनका लागि काम सुरु गरिएको छ ।











