Ad #144479

जिल्लाका तीन पालिकालाई जोड्ने आलोक चक्रपथ निर्माण हुने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती, मध्यविन्दु र हुप्सेकोटलाई छुने आलोक चक्रपथ निर्माणको काम सुरु गर्न लागिएको हो ।

कूल ३८ किलोमिटर लम्बाइको यस चक्रपथ अन्तर्गत प्रारम्भिक चरणमा कावासोती –१६, डण्डादेखि हुप्सेकोट गाउँपालिका–४, झ्यालबास बजारसम्म करिब १० किलोमिटरमा काम गरिने आलोक चक्रपथ डण्डा– झ्याबास खण्ड व्यवस्थापन संयोजक शिव गिरीले जानकारी दिनुभयो । यस खण्डमा चक्रपथको काम चाँडै सुरु गर्ने तयारी गरिएको अध्यक्ष गिरीले बताउनुभयो । करिब रु ४० करोड लागतमा पहिलो चरणको काम हुने उहाँले बताउनुभयो ।

हुप्सेकोटलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने यस खण्डको निर्माणले पालिकाका बासिन्दालाई आवतजावतमा थप सुविधा मिल्ने छ । जीर्ण बनेको सडक निर्माणले आवतजावत सहज हुने गिरीले बताउनुभयो । आलोक चक्रपथले तीन पालिकाका १५ वटा वडालाई छुने छ । जस अन्तर्गत कावासोती नगरपालिकाभित्रका १४, १५, १६ र १७ , मध्यविन्दु नगरपालिकाभित्रका २ ,३, ४, ५,६,७ र ९ तथा यसैगरी हुप्सेकोट गाउँपालिका–१ देखि ४ सम्मका चारवटा वडा पर्दछन् । चक्रपथको चौडाइ नालासहित १५ मिटर हुनेछ ।

तीन पालिकाभित्रका ग्रामीण क्षेत्रमा पर्ने वडालाई पूर्व पश्चिम राजमार्गसँग जोड्ने हुँदा यस चक्रपथलाई महत्वपूर्ण रुपमा लिइएको छ । ग्रामीण क्षेत्रका बस्तीलाई बजार क्षेत्रसँगको सहज पहुँच विस्तारमा चक्रपथले सहयोग पुग्ने मध्यविन्दु नगरपालिका–२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । “यो चक्रपथले ग्रामीण क्षेत्रका बासिन्दालाई सुविधा थप्ने छ, राजमार्ग र मुख्य बजारसँगको सहज पहुँचका लागि चक्रपत्रले थप सहयोग पुग्ने छ”, वडाध्यक्ष अधिकारीले भन्नुभयो, “चक्रपथ निर्माण हुने कुराले स्थानीय खुसी छन् ।”

चक्रपथ निर्माण सम्पन्न भएपछि यातायातको थप सुविधा पुग्ने हुँदा नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई बजारसम्म पुग्न सहज हुने वडाध्यक्ष अधिकारीले बताउनुभयो । पूर्व–पश्चिम राजमार्गदेखि उत्तर र दक्षिण तर्फ रहेका भित्री बस्तीलाई छुने आलोक चक्रपथको ३८ किलोमिटर लम्बाइमध्ये केही भाग यस अघि कालोपत्र गर्ने काम भएको छ । पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेश र कतिपय स्थानमा पालिकाले कालोपत्रको काम गरेका छन् ।

चक्रपथको योजना अघि बढ्नु पूर्व भएका निर्माणका काम बाहेकका क्षेत्रमा यो चक्रपथ अन्तर्गत योजना अघि बढ्ने जनाइएको छ । यस अन्तर्गत ३८ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर) तयार भएको र पहिलो चरणमा करिब १० किलोमिटरमा काम हने पूर्वाधार विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त निर्देशक राम पराजुलीले बताउनुभयो ।

हाल वातावरणीय अध्ययनको काम चलिरहेको र तत् पश्चात काम सुरु गर्ने योजना छ । ३८ किलोमिटरमध्य करिब २२ किलोमिटरमा काम गर्नुपर्ने देखिएको निमित्त निर्देशक पराजुलीले बताउनुभयो । विस्तृत परियोजना प्रतिवेदन अनुसार कूल लागत करिब रु एक अर्ब ७५ रहेको रहेको उहाँले बताउनुभयो । एसियाली विकास बैंकको सहयोगमा चक्रपथ निर्माणको काम अघि बढेको हो ।