लमजुङमा भाइरल ज्वरोका बिरामी बढे

२९ भदौ, लमजुङ । जिल्ला अस्पताल लमजुङमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । चिकित्सकका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका भाइरल ज्वरोका बिरामी बढेका हुन् ।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा खटिरहेका चिकित्सकले भाइरलका बिरामी जाँच्ने भएकाले दोहोरो व्यवस्थापनमा कठिनाइ भइरहेको बताए । भाइरल ज्वरोका बिरामीलाई कोरोनाको सङ्क्रमण छिटो सर्न सक्ने र आफूहरू दुवैको उपचारमा खटिँदा बिरामीलाई समस्या हुन सक्ने चिकित्सकको भनाइ छ ।

अस्पतालमा भर्ना हुने धेरै नभए पनि पिसिआर जाँचका लागि आउने गरेको र सङ्क्रमण देखिने गरेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जिल्लामा भाइरल ज्वरोका बिरामी बढेकाले सामान्य रूपमा नलिन आग्रह गरेका छन् ।

जिल्ला अस्पताल लमजुङमा एक महिनादेखि दैनिक ३० देखि ३५ जना भाइरल ज्वरोका बिरामी उपचारका लागी अस्पताल आउने गरेको अस्पतालले जनाएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले अन्य बिरामी र कोरोनाका बिरामी एकै ठाउँ भेट भए सङ्क्रमण समुदायसम्म जाने निश्चित भएकाले अबको व्यवस्थापनमा थप चुनौती थपिएको बताए । स्थानीय तह, स्वास्थ्यकर्मी र प्रहरीको सहकार्यमा जिल्लामा कडाइका साथ मास्क र स्वास्थ्य सतर्कताको पालना गराउनेतर्फ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रजिअ लुइँटेलको भनाइ छ । न्युज कारखाना