उदयपुरमा ६४ करोड राजस्व संकलन

२९ भदौ, उदयपुर। करदाता सेवा कार्यालय उदयपुरले कोभिड कहरका बीच आर्थिक वर्ष २०७७/७८ मा सन्तोषजनक राजस्व संकलन गरेका छ । २०७७ साउनदेखि ७८ असार मसान्तसम्म ६३ करोड ८१ लाख ४३ हजार ९ सय २ रुपैयाँ संकलन भएको गाईघाटस्थित करदाता सेवा कार्यालय उदयपुरले जनाएको छ ।

सबभन्दा बढी राजस्व आर्थिक वर्षको अन्तिम महिना असारमा संकलन भएको छ । असारमा १२ करोड ६६ लाख ५२ हजार ९ सय ६० रुपैयाँ संकलन भएको कार्यालय प्रमुख कर अधिकृत सरोज सिंहले जानकारी दिए । उनका अनुसार सबभन्दा कम राजस्व गत भदौमा १ करोड ५० लाख ३१ हजार ७ सय ९४ संकलन भएको छ । लक्ष्य अनुरूप राजश्व संकलन नभए पनि गत वर्षको भन्दा १.३० प्रतिशतले बढी हो ।

गत चैतमा ७ करोड ५४ लाख ६२ हजार २ सय २८ रुपैयाँ जम्मा भएको छ भने त्यसपछिको गत फागुनमा ७ करोड ३७ लाख २७ हजार २ सय ४४ रुपैयाँ संकलन भएको छ । अन्य महिनामा २ करोड ५९ लाखदेखि सवा ७ करोडसम्म संकलन भएको अभिलेख कार्यालयसँग छ ।

साउनमा ७ करोड ३५ लाख ७४ हजार २ सय ७५ रुपैयाँ उठेको छ भने पौषमा ६ करोड ८ लाख १४ हजार ७ सय ८६, माघमा ४ करोड ६१ लाख ९० हजार ८ सय ११ उठाएको कार्यालयले असोजमा ३ करोड ४२ लाख ७२ हजार ४ सय ३५ रुपैयाँ उठाएको छ ।

त्यस्तै बैशाखमा ३ करोड ९१ लाख ९५ हजार १ सय १७, जेठमा ३ करोड ८१ लाख ६७ हजार ३ सय १७, मंसिरमा २ करोड ९० लाख ८१ हजार १ सय ९३, कात्तिकमा २ करोड ५९ लाख ७३ हजार ८ सय ३६ उठाएको कर कार्यालयले जनाएको छ ।

सेवा कार्यालयले २०७७/७८ मा सबभन्दा बढी राजश्व मूल्य अभिवृद्धि कर (भ्याट) बापत संकलन गरेको छ । भ्याट बापत ३१ करोड ३० हजार ५ सय २ रुपैयाँ संकलन भएको कर अधिकृत सिंहले बताए । त्यस्तै कार्यालयले दोस्रो ठूलो हिस्सा राजश्व आयकर बापत उठाएको जनाएको छ । आयकर बापत कार्यालयले २९ करोड ३४ लाख ४८ हजार ५ सय ९१ उठाएको छ । विविधतर्फ १० हजार ४ सय ३८ उठाएको सिंहले बताए ।

अघिल्लो आर्थिक वर्ष भन्दा २०७७/७८ मा ८१ लाख ६८ हजार ८ सय ३५ ले बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष ०७६/७७ मा ६२ करोड ९९ लाख ७४ हजार ५ सय २९ संकलन भएको थियो । न्युज कारखाना