२७ जेष्ठ, पोखरा। गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले बहुमत पुर्याउने देखिएको छ। आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै छन्।
त्यसको पूर्वसन्ध्यामा गुरुङ नेतृत्वकै सरकारमा खेलकुदमन्त्री रहेका राजीव गुरूङ ‘दीपक मनाङे’ ले प्रदेश सभा विघटन हुन नदिन भन्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरेका हुन्। विश्वासको मत लिनुअघि बुधबार साँझ बसेको मन्तिपरिषद बैठमामा समेत मनाङे उपस्थित भएनन्।
कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् ।
तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा ३० सांसद छन् ।
जनमोर्चाले सांसदबाट कारबाही गरेका कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली गरेसँगै थापाले मुख्यमन्त्रीको पक्षमा समर्थन गर्ने बताइसकेका छन् । यस्तो अवस्थामा मुख्यमन्त्रीको पक्षमा २८ जना सांसदको समर्थन हुने देखिएको छ ।












