प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एकको मृत्यु, अर्का एक जना घाइते

२१ जेठ, विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

कार प्रदेशसभा सदस्य बिन्दियाका छोरा रोबिन कार्कीले चलाएका थिए । बिन्दिया कार्की नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य हुन् ।

कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको कोसी अस्पताल पुर्याउने बित्तिकै चिकित्कसले मृत घोषित गरेका थिए ।

बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रोबिन कार्कीसहितका युवाहरु कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिँदै आएका छन् । शव व्यवस्थापनमा जाँदा युवाहरुले सोही गाडी प्रयोग गर्थे ।

दुर्घटनामा परेको कार क्षतिग्रस्त छ । दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।