एक डाक्टरसहित चार स्वास्थ्यकर्मी हुम्लाका सातवटै गाउँपालिकामा

९ जेष्ठ, हुम्ला। कोभिडको जाँच गर्नका लागि एक डाक्टरसहित चार स्वास्थ्यकर्मी हुम्लाका सातवटै गाउँपालिकामा खटाइएको छ । दक्षिणी र उत्तरी भेगहरुमा घरदैलोमा गई स्थानीयवासीको स्वास्थ्य परीक्षण तथा उपचारको प्रबन्ध मिलाइएको बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण जिल्लामा बढिरहेकाले घरघरमै पुगी उपचारको व्यवस्था गर्नु परेको स्वास्थ्य सेवा विकास कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो । प्रमुख सिंहका अनुसार थप टोली जेठ १० गते कर्णाली प्रदेशबाट स्वास्थ्यकर्मीको टोली आउने भएको छ ।

स्थानीय वासिन्दा एक पालिकाबाट अर्को पालिकामा आवतजावत गर्ने भएकाले जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सकसहितको टोली खटाइएको स्वास्थ्य सेवा विकास कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । कोभिड­१९ का कारण जिल्ला प्रशासन कार्यालयबाट दोस्रोपटक यही जेठ ४ गतेदेखि १५ गतेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको बैठकले सिमिकोट सदरमुकामका व्यापारीलाई दैनिक उपभोग्य सामानहरु बिहान १० बजेसम्म विक्री वितरण गर्ने निर्णय भएको थियो ।

यसैबीच दक्षिणी भेगमा पर्ने ताँजाकोट गाउँपालिका­३ मा यही जेठ ५ गतेदेखि ८ गतेसम्म लगातार वर्षा हुँदा आएको पहिरोले पुरेर स्थानीयवासी मानबहादुर शाही र कलबहादुर शाहीको १६ वटा भेडा, बाख्राको मृत्यु भएको छ ।