नेपालमा कोरोना संक्रमण दर ५.७ प्रतिशतले ह्रास

९ जेष्ठ, काठमाण्डौ। नेपालका कोभिड–१९ को सङ्क्रमण दर यस साता घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा यस साता सङ्क्रमण दर घटेकोे जानकारी दिइएको हो । इपिडिमियोलोजिष्ट तथा काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक डा अर्चना श्रेष्ठले गत साताको तुलनामा यस साता ५.७ प्रतिशतले सङ्क्रमण दर घटेको दावी गर्नुभयो ।

पछिल्लो २४ घण्टामा सात हजार ९१४ सङ्क्रमित भेटिएका छन् । शनिबारको तुलनामा आज भेटिएका सङ्क्रमितको सङ्ख्या कम हो । शनिबार आठ हजार ९८० सङ्क्रमित फेला परेका थिए । उहाँका अनुसार वागमती, गण्डकी र लुम्बनी प्रदेशमा सङ्क्रमण दर घटेको र प्रदेश नं १, प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने बढेको पाइएको छ ।

वागमती १६.३१ प्रतिशत, गण्डकी १०.८७ प्रतिशत र लुम्बनी प्रदेशमा १९. १ प्रतिशत सङ्क्रमणको दर घटेको छ । सबभन्दा बढी प्रदेश नं २ मा सङ्क्रमण दर फैलिएको छ । प्रदेश नं २ मा १०५.१ प्रतिशतको दरले सङ्क्रमण बढेको छ । प्रदेश नं १ मा २६.८ प्रतिशत, कर्णालीमा २९.१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९.६ प्रतिशतले सङ्क्रमण दर बढेको पाइएको छ । उहाँले सङ्क्रमण दर कम भए पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे पुनः बढ्ने बताउनुभयो ।

यस्तै जिल्लागत रूपमा ५० जिल्लामा सङ्क्रमणको दर व्यापक रुपमा फैलिएको उहाँको भनाइ छ । प्रतिलाख जनसङ्ख्यामा २७.८ जनामा दैनिक मानिसमा सङ्क्रमण छ । उहाँले गत वर्षभन्दा यस वर्ष तीन गुणाले सङ्क्रमणको दर फैलिएको जानकारी दिनुभयो । गत वर्ष असोजमा प्रतिदश लाख जनसङ्ख्यामा १३१.७ जनामा दैनिक सङ्क्रमणको दर रहेको थियो भने यसपटक जेठमा नै ३०७.६ जनामा सङ्क्रमणको दर रहेको उहाँको भनाइ छ । सङ्क्रमणको पोजिटिभ हुने दर पनि गत वर्षभन्दा यस वर्ष दोस्रो लहरले बढेको पाइएको छ । गत वर्ष २५.२ प्रतिशतमा पोजेटिभ दर र यस वर्ष ४६.७ प्रतिशत छ । इपिडिमियोलोजिष्ट डा श्रेष्ठ सङ्क्रमणबाट निधन हुने गत वर्षभन्दा यस वर्ष बढी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष सङ्क्रमितमध्ये १.३१ प्रतिशतको निधन र गत वर्ष ०.७५ प्रतिशतको भएको थियो । अहिले हरेक उमेर समूहमा सङ्क्रमणको कारणले मृत्युदर बढिरहेको उहाँको भनाइ छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सबभन्दा बढी १० जिल्लामा सङ्क्रमणको जोखिम रहेको बताउनुभयो ।

उहाँका अनुसार काठमाण्डौ, रुपन्देही, ललितपुर, बाँके, भक्तपुर, मोरङ, कास्की, कैलाली, दाङ र चितवन रहेका छन् । उहाँका अनुसार काठमाडौँ उपत्यकामा सङ्क्रमण घट्दै र उपत्यका बाहिर बढ्दै गएको छ । सबभन्दा चैत अन्तिम सातादेखि जेठको पहिलो हप्तासम्म सबभन्दा दु्रत गतिमा सङ्क्रमण बढेको बताउनुभयो ।