Ad #144479

 १६ माघ, बलेवा । मध्यावधि निर्वाचनको मिति तोकिएपछि जिल्ला निर्वाचन कार्यालय बागलुङले तयारी थालेको छ । निर्वाचन आयोगको कार्यसूचीअनुसार आजदेखि मतदाता अद्यावधिक तथा दाबी विरोधको काम शुरुआत भएको हो ।

जिल्लाका सबै स्थानीय तहमा सूचना जारी गरेर कार्यालय मतदाताको अद्यावधिका लागि दाबी विरोधको समय तोकेको छ । “कसैको दोहोरिएको वा नपरेको भए माग दाबी पेस गर्न भनेका छौँ”, निर्वाचन अधिकारी शिवराम शर्माले भन्नुभयोे, “नाम नमिलेको, नागरिकतासँग भिडाउँदा नमिलेको वा अन्य कुनै कारण भए खुलाउन समय दिइएको हो ।” दाबी विरोधका लागि तीन दिनको समय तोकिएको छ । बागलुङमा पछिल्लो विवरणअनुसार एक लाख ८२ हजार ९९३ मतदाता रहेका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एक लाख ६७ हजार २८२ थिए । पछिल्लो तीन वर्षमा १५ हजार ७ ११ मतदाता थपिएका छन् । तीमध्ये ९५ हजार २१ महिला र ८७ हजार ९७२ पुरुष रहेका छन् ।

“मतदाता नामावली दर्ता भएकाको सङ्ख्या धेरै छ तर १८ वर्ष उमेर पुगेपछि मात्रै मतदान प्रक्रियामा सहभागी हुन मिल्ने भएकाले सबै समावेश भएनन्”, उहाँले भन्नुभयो, “महिलाको सङ्ख्या पहिलेदेखि नै बढी देखिन्छ ।” विसं २०७४ को आमनिर्वाचमा ८७ हजार ४०३ महिला मतदाता हुँदा पुरुषको सङ्ख्या ७९ हजार ८७९ रहेको थियो । “दाबी विरोधको समय सकिएपछि सफाइको मौकाका लागि दुई दिनको समय हुन्छ”, उहाँले भन्नुभयो, “आयोगको निर्देशनअनुसार निर्वाचनका बाँकी प्रक्रियागत काम हुनेछन् ।”

जिल्लाका दुई निर्वाचन क्षेत्रमा १०३ मतदानस्थल तोकिएको छ । सदरमुकाम बागलुङ बजारलगायतका जनघनत्व धेरै भएका पालिका मुकामका मतदानस्थल धेरै रहेको कार्यालयले जनाएको छ । मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्रको सङ्ख्या थप भएको भए पनि मतदानस्थल भने साविककै रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सङख्याका आधारमा मतदान केन्द्र भने २१९ पु¥याएको छ । “मतदानस्थलनै थप गर्ने गरी सङ्ख्या बढेको छैन, मतदाताको विवरण अध्यावधि भएपछि थप के गर्ने भन्ने टुङ्गो लगाउन सकिन्छ”, उहाँले भन्नुभयो, “अहिलेलाई अनुमानकै आधारमा काम भइरहेका छन् ।” जिल्लामा प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनपश्चात् सुनसान रहेको कार्यालयले आम निर्वाचन घोषणापछि धमाधम काम थालेको हो ।