हाँडीखोलामा निर्माण गर्न लागिएको पक्की पुलकाे शिलान्यास

१५ माघ, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिले जनताको भावनालाई बुझेर दीगो विकासको अवधारणा अनुरुप विकास निर्माणका कामलाई तीव्रताका साथअघि बढाउनुपर्ने बताउनुभएको छ ।

मनहरी गाउँपालिका–३ हाँडीखोलास्थित हाँडीखोलामा निर्माण गर्न लागिएको पक्की पुलको शिलान्यास कार्यक्रममा आज उहाँले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो । उहाँले उक्त पुल निर्माणको लागि चालू आव २०७७/७८ मा एक करोड ५० लाख प्रदेश सरकारको तर्फबाट सहयोग उपलब्ध गराउने विश्वास दिलाउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पुल निर्माणको काम तोकिएको समयमै सम्पन्न गर्न मनहरी गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायीलगायत सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो । सभाध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले चालू आवमा उक्त पुल निर्माणको लागि लागि रू पाँच करोड ३५ लाख ५१ हजार ५२५ बजेट विनियोजन गरिएको र निर्माण व्यवसायीबाट पनि तोकिएको समय अगावै पुल निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता प्राप्त भएको बताउनुभयो ।

भैरव नारायण गणेश जेभी नामक निर्माण व्यवसायी कम्पनीले विसं २०७९ मंसिर १९ गतेभित्रमा ३५ मिटर लम्बाइ र सात मिटर चौडाइको पक्की पुल निर्माण सम्पन्न गर्ने गरी गाउँपालिकासँग ठेक्का सम्झौता गरेको छ । गाउँपालिकाले चालु आवमा थप ४ वटा पक्की पुलको शिलान्यास गर्ने पनि गाउँपालिकाका अध्यक्ष उप्रेतीले बताउनुभयो ।

[sidebar name="button post"]