१५ माघ, मकवानपुर । बागमती प्रदेश नीति योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्यामकुमार बस्नेतले आफ्नै ग्रामीण परिवेशमा उत्पादन हुने कोदो, जौ, कागुनो, खाद्यान्नको परिकार बनाएर गर्भवती र बालबालिकालाई दैनिक खुवाउने अभियान सञ्चालन गर्न सकेमा कुपोषणबाट मुक्त हुने बताउनुभएको छ ।
उहाँले बागमती प्रदेश स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिद्वारा आज हेटौंडामा आयोजित पोषणयुक्त खाद्यान्नको समिक्षा भेलाको उद्घाटन गर्दै प्रदेशको १३ वटै जिल्लामा ग्रामीण परिवेशकै खाद्यान्नहरु उत्पादन गर्ने साँझा कार्यक्रमलाई ११९ वटै स्थानीय तहमा आगामी आर्थिक वर्ष २०७८/०७९ देखि कार्यान्वयनमा ल्याउन गुरु योजना तर्जूमा गरिन लागेको बताउनुभयो ।
उपाध्यक्ष बस्नेतले ग्रामिण भेगमा बसोबास गर्ने तामाङ-चेपाङ तथा आदिवासी समुदायलाई जंगलमा पाइने गिठ्ठा, भ्याकुर र सिस्नुलाई खाद्यान्नको विभिन्न परिकार बनाएर दैनिक प्रयोगमा ल्याउन पनि महिला जागरण समूहहरुले निरक्षर गृहणीहरुलाई घरदलोमा पुगेर जनचेतना जागृत गर्ने कार्यको लागि आयोगले पनि स्रोतसाधन परिचान गर्न लागेको उल्लेख गर्नुभयो ।
सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेतीले प्रदेशको १३ जिल्लामा भौगोलिक अवस्था, मौसमी वातावरण, सिँचाईको व्यवस्थापनमा सुधार ल्याई प्रत्येक कृषकको घरमा खाद्यान्न तरकारीको उत्पादन बढाउनेतर्फ आयोगले पनि प्राविधिक सर्वेक्षण गरिरहेको उल्लेख गर्नुहुँदै कोदो, फापर, सिस्नो र सुन्तला रंगको सखरखण्डलाई पनि खानाको परिकार बनाएर तालिकाअनुसार गृहणीले आफ्नो बालबालिकालाई खुवाउने अभ्यास गर्न सके गर्भवती र शिशुको मृत्युदर घटाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डण्डुराज घिमिरेले प्रदेशको विभिन्न जिल्लाको हिमाली र पहाडी क्षेत्रमा फरक–फरक मौसममा कृषक परिवारलाई कोदो, आलु, जौ, कागुनो, र जडीबुटीतर्फ गिठ्ठा, भ्याकुरलाई खेती गर्ने प्याकेज, कार्यक्रम संचालन गर्न स्थानीय निकायलाई बजेट बिनियोजित गरिएको र गृहिणी तथा बालबालिकालाई दिवाखाजाको रुपमा प्रयोगमा ल्याउने कार्यक्रमलाई अब पुनः समिक्षा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पोषणयुक्त खाद्यको विशेषज्ञ शुश्री बोनिता शर्माले सहरी तथा ग्रामिण बस्तीका गृहिणीलाई खाद्यान्न सामग्रीको परिकार बनाएर खाने तरिकामा एकरुपता ल्याउने सोच र व्यवहारमा परिवर्तन ल्याउन अब प्रदेश नीति योजना आयोगले आत्मसमिक्षा गरी नयाँ कार्यक्रम तर्जुमा गर्न आग्रह गर्नुभयो । उहाँले गृहिणीलाई घर दैलोमा पुगेर खाद्यान्नको परिकार बनाउने तरिका गर्भवतीको जाँच गराउने जनचेतना अभिवृद्धि गर्त महिला स्वंयसेवक परिचालन गर्नें कार्यलाई अब स्थानीय निकाय र प्रदेश नीति योजना आयोगको भूमिका आवश्यक रहेको बताउनुभयो ।
विश्वको विभिन्न क्षेत्रमा दक्षता हासिल गर्नुभएका सय महिलामध्ये छनौटमा पर्नुभएकी नेपाली चेली शर्माले नेपाली समुदायमा खाद्यान्नको परिकार घरमै बनाउन सक्ने क्षमता हुँदाहुँदै जनचेतनाको अभावमा आफ्नै गाउँमा उत्पादन भएका खाद्यान्नलाई विभिन्न तरिकाबाट आफ्नो बालबालिका र आफुले खाने मेलोमेसो नजान्दा हामी आफ्नै घरमा गरिबीबाट पिल्छिनुपरेको बताउँनुभयो ।
प्रदेश स्तरीय पोषण तथा खाद्यान्नको समिक्षा भेलामा नीति योजना आयोगका सदस्य यमुना कँडेल, सामाजिक विकास मन्त्रालयका सहसचिव डा। पुरुषोत्तमराज सेढाईले संघीय र प्रदेश सरकारको सहकार्यबाट प्रदेशको विभिन्न जिल्लामा दीर्घकालिन अवस्थासमावेश हुनेगरी दुर्गम भेगका नागरिकको स्वास्थ्य उपचार गर्न र खाद्यान्न, तरकारी उत्पादनको लागि मल, बिउ, किट्नाशक औषधिको व्यवस्थापन गर्न नीति योजना आयोग र पोषण कार्यक्रमले स्थानीय निकायलाई पनि परिचालन गर्नसके गर्भवती र बाल मृत्युदर न्यूनिकरण हुने बताउनुभयो ।
प्रदेश नीति योजना आयोगका पोषण विशेषज्ञ पुरुषोत्तम अर्याल, उपसचिव कृष्ण आचार्य र प्रदेश क्षेत्रीय निर्देशनालयका जनस्वास्थ्य अधिकृत शम्भु काफ्लेले क्रमशः बहु क्षेत्रीय पोषण कार्यक्रमको कार्यान्वयन, सु–आहारा कार्यक्रमको कार्यान्वयन, संरचना तथा वर्तमान अवस्था, प्रदेशस्तरबाट प्रदेशको पोषण, प्रवद्र्धनात्मक कार्यक्रमलाई १३ वटै जिल्लामा सञ्चालनमा ल्याउन दीर्घकालिन पोषणयुक्त खानाको उत्पादनसाथै प्रयोगमा ल्याउने विषयमा छलफल र विचार विमर्श गरिएको थियो ।
प्रदेश नीति योजना आयोगका पदाधिकारी, प्रदेशको विभिन्न मन्त्रालयका सचिव, जनस्वास्थ्य अधिकृत, पोषणयुक्त विशेषज्ञ र योजनाविद् गरी करिब ७० जना प्रतिनिधिको उक्त समिक्षा भेलामा सहभागिता थियो ।











