कञ्चनपुरमा पहिलो मेडिकल सुपरिटेन्डेन्टलाई कोभिड–१९ खोप

१४ माघ, महेन्द्रनगर। कञ्चनपुरका कोभिड–१९ विरुद्धको पहिलो खोप आज बिहान महेन्द्रनगरस्थित महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठलाई लगाइएको छ । यहाँ आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुरुआतका क्रममा श्रेष्ठलाई पहिलो खोप दिइएको हो । त्यसपछि स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार र अन्य स्वास्थ्यकर्मीले पनि खोप लगाएका छन् ।

खोप अभियान शुभारम्भ कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कोरोना कहर न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । “गत वर्षदेखि हामी कोभिडसित लडिरहँदा सबैलाई खोप तथा उपचार कहिलेबाट हुन्छ भन्ने थियो”, नगरप्रमुख विष्टले भन्नुभयो, “यो खोप अभियानमा हामी सबै अभिनेता भएर लाग्नुपर्नेछ ।”

त्यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले खोपका विषयमा अपवाह फैलाइएजस्तो कुनै बेफाइदा नरहेको बताउनुभयो । “पहिलो चरणमा हामी माघ २४ गतेसम्म जिल्लामा रहेका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई खोप लगाउने छौँ”, उहाँले भन्नुभयो, “एकाधलाई सामान्य रियाक्शन देखिए पनि त्यसलाई सामान्यरुपमा लिन आग्रह गर्छु ।”

आजदेखि यहाँ शुरु भएको खोप अभियानअन्तर्गत महाकाली अस्पतालका स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालय र विभिन्न पालिकाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालयको भनाइ छ । कञ्चनपुरमा मङ्गलबार दुई हजार ८२० मात्रामा खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट आएको थियो ।

खोप अभियान शुभारम्भ कार्यक्रममा कञ्चनपुरका प्रजिअ रामुकुमार महतो, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, नेपाली सेनाको सिंहशादूर््ल गुल्मका निमित्त गुल्मपति सहसेनानी अभय खड्कालगायतको सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा सरकारले यहाँ कोभिड–१९ विरुद्धको १६ हजार मात्रामा खोप पठाएको छ ।

[sidebar name="button post"]