१४ माघ, अमरगढी । डडेल्धुरा अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले डडेल्धुरामा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएर कोरोना खोप अभियानको शुभारम्भ गर्नुभएको छ । अमरगढीका नगरप्रमुख ओझाले आज बिहान डडेल्धरामै पहिलोपटक कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । कोरोनाविरुद्धको सुरक्षित खोप लगाउनका लागि डराउनु पर्दैन भन्ने सन्देश दिनका लागि आफूले डडेल्धुरामा शुरुमै खोप लगाएको उहाँले बताउनुभयो ।
नेपाल सरकारलाई भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख कोभिशिल्ड नामक खोप डडेल्धुरामा एक हजार २६० प्राप्त भएको छ । पहिलो चरणमा आज स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मीलाई दिइँदै छ । डडेल्धुरामा आजदेखि शुरु गरिएको कोरोना खोप अभियानअन्तर्गत आज अहिलेसम्म ५० जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुख आशुतोष श्रेष्ठले बताउनुभयो ।
खोप अभियान आज जिल्ला सदरमुकाम अमरगढी १५ गते गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिका, १६ गते अजयमेरू गाउँपालिका र भागेश्वर गाउँपालिका, १७ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिका र १८ गते छुटपुट सबै जनालाई जिल्ला सदरमुकाममा लगाइने स्वास्थ कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुन सक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता सामान्य असर देखिने उनले बताउनुभयो ।











