बेलायतबाट आएका ५ जनालाई कोरोना पुष्टि

१३ पुष, काठमाडौं । बेलायतबाट आएका ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुलाई नयाँ प्रकारको कोरोना भाइरस रहेको अनुमान गरिएको छ । यद्यपी यसको पुष्टि हुन बाँकी छ ।

इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा इडिसिडीले राजधानीको विभिन्न होटेलमा क्वारेन्टाइनमा बसेका उनीहरुको परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरिएको थियो ।

यसरी बसेका मध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । तर उनीहरुलाई नयाँ प्रजातीको कोरोना भएको भन्न नमिल्ने इडिसिडीका निर्देशक वासुदेव पाण्डेको भनाई छ । उनका अनुसार नयाँ किसिमको कोरोना भाइरस भएको पत्ता लगाउन उनीहरुको जिन सिक्विनिङ गर्नुपर्छ ।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि यसको प्रभाव विश्वभर परेको छ । यसका साथै बेलायतले नयाँ प्रकारको भाइरस रोक्न बाहिर देशबाट आउनेलाई रोक लगाएको छ ।

[sidebar name="button post"]