चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।
टन्टलापुर घाम, अत्यधिक गर्मी, वातावरणीय आद्रताले गर्दा छालाको हेरविचार गर्नुपर्ने हुन्छ । त्यसमाथि वातावरणीय प्रदूषण र धुलो धुवाँले छालाको प्राकृतिक चमकलाई निस्तेज पार्ने वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा हरेन्द्र झा बताउनुहुन्छ । यसकै कारण छाला अत्यधिक चिल्लो, दागले भरिएको तथा डढेको कालो जस्तो देखिने उहाँको भनाइ छ ।
बढदो तापक्रमले चिल्लो निकाल्ने ग्रन्थीको छिद्र ठूलो भएर जान्छन् जसमा चिल्लो, धुलो, फोहर तथा किटाणु जम्मा हुन्छन् । यी सबै कारणले गर्दा चायाँ, पोतोको समस्या बढेर जाने उहाँको भनाइ छ । छालामा बुढ्यौलीको लक्षण चाँडै देखिन्छ । साथै छालाको क्यान्सर रोगको सम्भावना पनि बढेर जाने डा झा बताउनुहुन्छ ।
बजारमा पाइने राम्रो खालका एन्टी अक्सिडेन्ट सेरम प्रयोग गर्न सकिने चिकित्सक बताउँछन् । जसले छालाको चिस्यानलाई जोगाइराख्नुका साथै यसलाई वातावरणीय प्रभावबाट पनि सुरक्षित राख्न मद्दत गर्दछ । सबै प्रकारको छालाका लागि यो राम्रो विकल्प मानिन्छ । हामीले आफ्नो खाने कुरामा पनि एन्टी अक्सिडेन्टको प्रयोग बढाउनसक्छौँ । झाले भन्नुभयो, “हरियो सागसब्जी, कागती, सुन्तला, गोलभेँडा, सुक्खा फल जस्तै छोकडा, किसमिस, ओखर आदिको प्रयोग गर्नाले छाला चम्किलो र जवान देखिन्छ ।”
यस्तै गर्मीका बेलामा हप्तामा एक वा दुइपटक अनुहारमा फेस प्याकको प्रयोग उपयुक्त हुन्छ । राति सुत्न अगाडि पानीले अनुहार राम्ररी सफा गरिसकेपछि उपयुक्त फेस प्याकको प्रयोग गर्नु पर्ने चिकित्सक बताउँछन् ।
चर्को घाममा काम नपरी घर बाहिर नहिँड्न, सनस्क्रीनको लगातार प्रयोग गरिराख्ने, अनुहार छोप्ने लुगा वा सनग्लासको प्रयोग गर्ने, चिसो पानीको स्नान गर्ने आदिले पनि छालालाई स्वस्थ, चम्किलो र ताजा बनाइराख्ने डा झाको भनाइ छ ।












