नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ ।
आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई÷तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ”, मौसमविद् कँडेलले भन्नुभयो । मौसमविद्का अनुसार यस वर्ष मनसुन बढी सक्रिय भएको छ । मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको बताइएको छ ।
दुई÷तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । हाल प्रदेश नं २ मा र प्रदेश नं ५ का केही भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव चार र अधिकतम तापक्रम ३०ं दशमलव छ डिग्री सेल्सियस रहेको छ ।