आचारसंहिता पालना गर्न युट्युबरलाई आह्वान

अनलाइन टिभी पत्रकार सङ्घले युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न आह्वान गरेको छ । केही अनलाइन टिभी सञ्चारकर्मीले बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेको छ ।

यसै बेला सङ्घले त्यस्तो व्यवहार नगर्न र पत्रकार आचारसंहिताको ख्याल गर्न आग्रह गरेको हो । तत्काललाई पत्रकार आचारसंहिता २०७३ नै पालना गर्न र चाँडै नै अनलाइन टिभी पत्रकार आचारसंहिता जारी गर्न लागिएको सङ्घका महासचिव राजु सुवेदीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

सङ्घले युट्युबरलगायतका अनलाइन टिभी पत्रकारलाई सामाजिक दायित्व नभुलेर आफूलाई सुधार्दै लैजान आग्रह पनि गरेको छ । सञ्चार कानूनले नयाँ माध्यमलाई सहजै समेट्न नसकेको र अर्कोतर्फ नयाँ सञ्चार क्षेत्रमा क्रियाशीललाई सिक्ने/सिकाउने र सङ्गठित हुने वातावरण पनि बनिनसकेकाले अन्यौलता रहँदै आएको वक्तव्यमा लेखिएको छ ।