भारतले एकतर्फीरुपमा बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका बर्सेनी डुबानमा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्र डुबान र कटानको चपेटामा परेका छन् ।
जिल्लाको पूर्वीदक्षिण सीमावर्ती गाउँहरुमा बाँधले प्राकृतिक बहाव रोकेपछि गाउँहरु बर्सेनी डुबानमा पर्दै आएका हुन् । भारतले कटकुइयादेखि पश्चिमतर्फ विस्तार गरेको सडकजस्तो बाँधले उत्तरबाट दक्षिण बग्ने पानीको निकास थुनेको छ । नरैनापुर गाउँपालिका–१ महतनियाका स्थानियहरु बर्खा शुरु भएपछि त्रास मै बाँच्ने गरेका छन् । चारैतिरबाट जम्मा भएको पानी आँगनमा जम्मा भएपछि गाउँले घरबाट निस्कन पाउँदैनन् । छत हुनेहरु छतमा बसेर गुजारा चलाउँछन् ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहका अनुसार बाँधका कारण पानीको निकास नहुँदा एक दर्जन गाउँका १०० बढी घर डुबानको जोखिममा रहेका छन् । भारतले एकतर्फी बनाएको लक्ष्मणपुर बाँधमा १४ ढोका छन् र भारतको मनौला पुर्वा गाउँदेखि लक्ष्मणपुर कलकलवा तटबन्धले गर्दा पूरै गाउँ डुबानमा पर्दै आएका छन् ।
पछिल्लो वर्षदेखि दशगजामा विस्तार गरेको सडकजस्तो बाँधले जिल्लाका दक्षिणी भेगका सबै मानिस डुबानको जोखिममा छन् । भारतले दशगजामा बनाएको बाँधले पानीको प्राकृतिक बहाव रोकिदिएर नेपालगञ्जसमेत डुबानमा पर्ने गरेको जनाइएको छ ।